काभ्रेका विभिन्न सरकारी तथा निजी संरचनामा तोडफोड र क्षति


पछिल्ला घटनाक्रमका कारण काभ्रेपलान्चोक जिल्लामा रहेका सरकारी तथा निजी संरचनामा ठुलो क्षति पुगेको छ। बनेपा, धुलिखेल, पनौती, पाँचखाललगायतका क्षेत्रमा सरकारी निकायदेखि स्थानीय जनप्रतिनिधिहरूको निजी आवाससम्ममा तोडफोड, आगजनी र लुटपाट भएको विवरण सार्वजनिक भएको हो।

सरकारी संरचना प्रभावित घटनामा बनेपा नगरपालिका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै, पनौती नगरपालिका कार्यालयमा तोडफोड भएको छ भने त्यही क्षेत्रमा रहेको प्रहरी चौकीसमेतमा क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय बनेपा, ट्राफिक प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी पाँचखाल, प्रहरी चौकी कुन्ताबेशी लगायतका संरचना पूर्ण रूपमा नष्ट भएको जनाइएको छ। यस्तै, जिल्ला कारागार धुलिखेलमा पनि क्षति पुगेको र बनेपा, धुलिखेल, पाँचखाल, पनौती, कुशादेवीलगायत स्थानमा रहेका प्रहरी विटहरूमा तोडफोड भएको स्थानीय प्रशासनले जनाएको छ।

सरकारी संरचनासँगै राजनीतिक नेतृत्व र जनप्रतिनिधिहरूका निजी घरसमेत आक्रमणको निशानामा परेका छन्। पूर्व मन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

त्यस्तै, पूर्व सांसद शिवप्रसाद हुमागाईँको पनौतीस्थित घरमा तोडफोड हुनुका साथै सवारीसाधनमा आगजनी भएको छ। धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको घर पूर्ण रूपमा ध्वस्त पारिएको छ भने पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको घरमा तोडफोड र लुटपाट भएको छ। पनौती नगरपालिका उपप्रमुख गीता बञ्जाराको घर पनि पूर्ण रूपमा क्षति भएको छ। त्यस्तै, पनौतीका पूर्व नगर प्रमुख भीम न्यौपानेका घरहरू समेत ध्वस्त बनाइएका छन्।

वडा अध्यक्ष पुरुषोत्तम अधिकारीको घरमा लुटपाट र तोडफोड भएको र पाइलट पनौतीका रामेश्वर थापाको घर पूर्ण क्षति भएको विवरणमा उल्लेख छ।

स्थानीय प्रशासनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान, नियन्त्रण तथा क्षतिको मूल्याङ्कन गर्ने कार्य अघि बढाएको जनाएको छ। तोडफोड र क्षतिबारे थप विवरण सङ्कलन भइरहेको र सुरक्षालाई कडा पारिएको प्रशासनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार