काठमाडौँ । प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङलाई अदालतले मुद्दा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ । ललितपुर जिल्ला अदालतले शुक्रबार उनलाई थुनामा पठाउन आदेश गरेको हो । प्रहरी प्रधान कार्यालयस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा कार्यरत गुरुङलाई ललितपुर प्रहरीले भदौ ३ मा पक्राउ गरेको थियो ।
पूर्वपत्नीलाई कुटपिट र बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । सरकारी वकिलले उनलाई जबर्जस्ती करणी र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अभियोग दायर गरेको थियो ।
थुनछेक बहस पुरा भएपछि अदालतको आदेश अनुसार गुरुङलाई नख्खु कारागार चलान गरिएको ललितपुर जिल्ला सरकारी वकिल कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले साउन ३० मा ललितपुरको हात्तीवनस्थित डेरामा गएर पूर्वपत्नी शुभद्रा दाहालमाथि निर्घात कुटपिट गरेका थिए । उनले केही समयअघि दाहालसँग सम्बन्ध विच्छेद गरेका थिए ।