Tikho News
Thursday, September 11, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Tikho News
No Result
View All Result

Home » साक्षरतामा कृत्रिम बौद्धिकता

साक्षरतामा कृत्रिम बौद्धिकता


साक्षरतामा कृत्रिम बौद्धिकता

संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले सन् १९६७ देखि ८ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदै आएका छन् । यस वर्ष ‘डिजिटल युगमा साक्षरताको प्रवर्धन’ नारा साथ यो दिवस मनाइँदै छ ।

युनेस्कोका अनुसार शिक्षा मानिसको आधारभूत मानव अधिकार हो र साक्षरता आजीवन प्रक्रिया । यो प्रक्रियाले पढाइ, लेखाइ, गणितीय र जीपनोपयोगी सीप हासिल गर्दै व्यक्तिलाई आवश्यक सूचना प्राप्त गर्न सहयोग गर्छ । जुन व्यक्ति साक्षर हुन्छ, उसले अरुको भाषा, संस्कृति, धर्म, रीतिरिवाजका साथै अरुको पहिचानको सम्मान र मर्यादा गर्छ । जस कारण समाजमा शान्ति–सुरक्षाका साथै एकापसमा समझदारी कायम हुन्छ । समग्रमा समाज, देश र विश्वमा शान्तिको सुनिश्चितता हुन्छ ।

सूचना र प्रविधिको क्षेत्रमा कृत्रिम बौद्धिकताको विकास र प्रयोगले साक्षर बनाउने र बन्ने प्रक्रियामा आमूल परिवर्तन ल्याइदियो । कृत्रिम बौद्धिकताको विकास र जीवनको समग्र पक्षमा यसको सघन प्रयोगका कारण सूचना–प्रविधि मानव विकासको एक अभिन्न अङ्ग भइसकेको छ । खासगरी च्याट जीपीटी, माइक्रोसफ्ट कोपिलट, क्लाउड, मेटा एआई, जेमिनी, डिपसिकजस्ता कृत्रिम बौद्धिकताका साधनहरूमा मानिसको निर्भरता बढ्दै गएको छ ।

औपचारिक शिक्षामा त कृत्रिम बौद्धिकताको प्रयोग पाठ्यक्रम र पाठ्यसामग्री निर्माणदेखि अध्ययन अध्यापन, परीक्षा, शैक्षिक प्रशासन आदिसम्म घनीभूत रूपमा हुन थालिसकेको छ । अनौपचारिक तथा अरीतिक शिक्षामा कृत्रिम बौद्धिकताको प्रयोगको चर्चा कम भएको सन्दर्भमा साक्षरता अभिवृद्धि कार्यक्रममा यसको प्रयोग कसरी गर्न सकिन्छ ? यसको प्रयोगका फाइदा र चुनौती के छन् र सरकारले निभाउनुपर्ने भूमिका के हो ? आदि विषयको सेरोफेरोमा रहेर यो लेख तयार गरिएको छ ।

कृत्रिम बौद्धिकताको विकासले साक्षरतासम्बन्धी हालका पाठ्यक्रम, पाठ्यसामग्री, सिकाइका विधि र प्रक्रिया तथा सहजकर्ताको परम्परागत भूमिका असान्दर्भिक र अप्रासंगिक हुन थालिसकेका छन् । बहुआयामिक क्षमताका कारण कृत्रिम बौद्धिकता अब साक्षरता कार्यक्रमको सहायक प्रविधि मात्र नभएर निर्णायक पक्ष भइसकेको जस्तो देखिन्छ ।
अबको साक्षरता कक्षा परम्परागत रूपमा अक्षर र अङ्क चिनाउने, आय–आर्जनका सीप सिकाउने, वित्तीय साक्षरता प्रदान गर्नेमा मात्र सीमित भएर पुग्दैन; कृत्रिम बौद्धिकताले सम्पूर्ण क्षेत्रमा जबर्जस्ती प्रभाव जमाइरहेको अवस्थामा यसको प्रयोग साक्षरताको अभिवृद्धिमा पनि जरुरी भइसक्यो । एक हप्ताअगाडि मैले सुनेको एक उदाहरण हेरौँ  ः
म प्रायः शनिबार एकजना भाइको पसलमा चिया पिउन जान्छु । उक्त पसलमा हामीमध्येकै एक साथीले पसले भाइलाई फेसबुकमा विषयवस्तु लेख्न लगाएर पोस्ट गर्नुहुन्छ । यो क्रम पछिल्ला केही वर्षदेखि चल्दै आएको थियो तर गएको साता जब उहाँले विषयवस्तु लेखाउन लाग्नुभयो, उक्त पसलकी साहुनीले भनिन्— ह्या ड्याडी पनि अब त हजुर बोल्नुहोस् एआईले लेखिदिन्छ, किन अरुलाई भनिरहनुपर्‍यो !

आज १० वर्षमाथिका ८० प्रतिशत मानिससँग फोन छ । विश्वका ६८ प्रतिशत व्यक्ति इन्टरनेटको पहुँचमा छन् । यो संख्या धनी देशमा ९३ प्रतिशत छ भने कम आय हुने देशमा २७ प्रतिशत मात्र छ । गरिब र धनी बिचको यो खाडल यसको प्रयोगले झन् बढ्न सक्छ ।

साहुनीले विद्यालय शिक्षा पूरा गरेजस्तो लाग्दैन मलाई तर उनले विश्वविद्यालयका अनेकौँ प्रमाणपत्र हासिल गरेको व्यक्तिलाई कृत्रिम बौद्धिकताका बारेमा पढाइन् । मैले उनलाई जिस्क्याएँ पनि, कान्छी एआई भन्या के हो भन न ? उनी खिस्स हाँस्दै म नपढेको मान्छेलाई जिस्काउने दाइ भन्दै अर्को कोठातिर गइन् । यो सन्दर्भले अबको साक्षरता कार्यक्रमको स्पष्ट दिशानिर्देश गरेजस्तो लाग्छ मलाई ।

  • तथ्याङ्कमा साक्षरता

यस वर्ष मनाइने अन्तर्राष्ट्रिय साक्षरता दिवसको सन्दर्भमा युनेस्कोले प्रकाशित गरेको अवधारणा पत्रका अनुसार आजभन्दा ५० वर्षअगाडि २५ प्रतिशतभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका युवा लेख्न–पढ्न सक्दैनथे । आज ९३ प्रतिशतभन्दा बढी यो उमेर समूहका युवा पढलेख गर्न सक्छन्, यद्यपि आज विश्वमा ७३ करोड ९० लाख मानिस निरक्षर छन् ।

विश्व बैङ्कको तथ्याङ्क अनुसार विश्वमा १५ वर्षमाथिको ८७ प्रतिशत जनसङ्ख्या साक्षर छ । युरोप, पूर्वी एसिया र प्यासिफिक तथा उत्तर अमेरिकी देशमा साक्षरता करिब सय प्रतिशत नजिक छ भने दक्षिण सुडान, माली, अफगानिस्तानजस्ता देशको साक्षरता दर ४० प्रतिशतभन्दा कम छ ।

विश्व बैङ्कको सोही तथ्याङ्क अनुसार दक्षिण एसियाली देशहरूमा माल्दिभ्स ९७.८६ प्रतिशत (सन् २०२१), श्रीलङ्का ९२.२ (२०२२), भारत ७७.७ (२०२३), बङ्गलादेश ७६ (२०२१), भुटान ७२.१० (२०२२), पाकिस्तान ५८ (२०१९) र अफगानिस्तान ३७.३ प्रतिशत (२०२१) साक्षरता दर रहेको देखिन्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार पाँच वर्षमाथिको उमेर समूहमा नेपालको साक्षरता दर ७६.२ प्रतिशत पुगेको छ । नेपाल सरकारले पूरा देशलाई साक्षर बनाउने उद्देश्य अनुरूप अहिलेसम्म चारवटा प्रदेश, ६७ जिल्ला र ६२२ स्थानीय निकाय साक्षर घोषणा भइसकेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार घोषणा हुन बाँकी मधेस र कर्णाली प्रदेश छन् भने जिल्लाहरूमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कालिकोट र डोल्पा हुन् । ७५३ स्थानीय निकायमध्ये १३१ वटा साक्षर घोषणा हुन बाँकी छन्, जसमा १२९ मधेस प्रदेशमा र कर्णाली प्रदेशमा दुई स्थानीय तह छन् । साक्षरतामा सबभन्दा कमजोर मधेस प्रदेश देखिन्छ ।

  • साक्षरतामा कृत्रिम बौद्धिकताको प्रयोग

साक्षरता कक्षामा सहभागी हुने व्यक्तिहरू उमेर ढल्केका र फरक–फरक आवश्यकता र प्राथमिकता, इच्छा र चाहना तथा क्षमता र दक्षता भएका हुन्छन् । सोही अनुसार उनीहरूले सिक्ने विषयवस्तु, सिक्ने शैली र सिक्ने समय समेत फरक–फरक हुन्छन् । कृत्रिम बौद्धिकतामा आधारित सिकाइ माध्यमले सिकारुको यी सबै पक्षलाई ख्याल गर्दै सिकाइ सामग्री तयार, अनुकूलन वा समायोजन गर्न सहज गराउँदै व्यक्तिकेन्द्रित तथा निजीकृत सिकाइलाई प्रोत्साहन गर्छ ।

ओबोफेमी अलोओ विश्वविद्यालय नाइजेरियाका प्राध्यापक टोलामिसे ओलासेन्डेको अनुसन्धानको प्राप्तिले भन्छ— कृत्रिम बौद्धिकताको प्रयोगले प्रौढ सिकारुलाई सान्दर्भिक, समय सापेक्ष र आफ्नो क्षमता अनुसार सिक्न, सिकाइ प्रक्रियामा संलग्न हुन र सिकेका विषय वस्तुबाट सन्तुष्ट हुन प्रेरित गर्दछ ।

आफ्नो एन्ड्रोइड फोन वा कम्प्युटरमा कृत्रिम बौद्धिकताको सहायताले व्यक्तिले उपयुक्त समयमा इच्छानुसारका विषयवस्तु सिक्न सक्छ । एउटै पाठ्यक्रम, एउटै पाठ्य विषय, एउटै शिक्षण सिकाइ विधि र एकै समयमा सिक्नुपर्ने परम्परागत प्रणालीलाई तोडेर कृत्रिम बौद्धिकताका कारण सिकारु अहिले विविध सामग्री, फरकफरक सिकाइका विधि र पद्धति अपनाउन स्वतन्त्र र सक्षम हुँदै गएका छन् ।

साक्षरता कार्यक्रममा कृत्रिम बौद्धिकताको प्रयोगले सिकारुको कार्यसम्पादन क्षमता, सिकाइको गति, सबल र दुर्लभ पक्ष सबैको विश्लेषण गरेर उसले ग्रहण गर्न सक्ने, बुझ्न सक्ने र व्यक्तिको सीप र क्षमता अनुसारको सामग्री उत्पादन र क्रियाकलाप निर्माण गर्न सहयोग गर्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार पाँच वर्षमाथिको उमेर समूहमा नेपालको साक्षरता दर ७६.२ प्रतिशत पुगेको छ । नेपाल सरकारले पूरा देशलाई साक्षर बनाउने उद्देश्य अनुरूप अहिलेसम्म चारवटा प्रदेश, ६७ जिल्ला र ६२२ स्थानीय निकाय साक्षर घोषणा भइसकेका छन् ।

व्यक्ति कुन क्षेत्रमा दख्खल हुन खोजेको छ र उसको आवश्यकता के हो ? सो अनुसार कृत्रिम बौद्धिकताको प्रयोग गर्न सकिन्छ । जस्तै ः शब्दको सूची बनाउने, प्रश्नहरू निर्माण गर्ने, उत्तर अभ्यास गर्ने आदि । कृत्रिम बौद्धिकताको प्रयोग गर्दै सिक्ने व्यक्तिको कुन क्षेत्रमा ज्ञान, सीप र क्षमतामा कमी छ ? उसलाई पढाइ, उच्चारण, लेखाइ वा गणना कुन पक्षमा बढी जोड दिनुपर्छ भन्ने विषय थाहा पाउन सकिन्छ । जसले गर्दा सहजकर्तालाई व्यक्तिगत रूपमा सहभागीलाई सहयोग गर्न सक्षम बनाउँछ ।

कृत्रिम बौद्धिकताको प्रयोग गर्दै पढ्ने, लेख्ने, बोल्ने आदि गर्दा यसले तुरुन्तै पृष्ठपोषण दिन्छ । कमी–कमजोरी र बलिया पक्ष बताइदिन्छ । सुधारका लागि सुझाव दिन्छ । उच्चारण सुधार गर्न नमुना उच्चारण गरिदिन्छ । साथै साक्षरता कक्षा सञ्चालन गर्दा यसको प्रयोगले व्याकरणको उचित प्रयोग, भाषाको शुद्धता र सरलता तथा अभिव्यक्ति कलाको सुधार गर्न सकिन्छ ।

यसको प्रयोगले विनामूल्य स्वतस्फूर्त रूपमा प्राप्त गर्न सकिने ज्ञान र सीपको भण्डारमा पहुँच पुर्‍याउन सकिन्छ । माइक्रोसफ्ट पढाइ, कोच र गुगल पढाइजस्ता साधनको प्रयोगले उच्चारणमा सुधार गर्न र शुद्ध बोल्न सहयोग गर्छ । तुरुन्तै पृष्ठपोषण दिएर नमुना उच्चारण पनि गरिदिन्छ । साथै यिनै साधनमार्फत उच्चारण र अक्षर मिलाउनेजस्ता खेल खेलाउन सकिन्छ । त्यसैगरी ग्रामर्ली र क्विलवटजस्ता साधनले लेखाइको तुरुन्त पृष्ठपोषण दिएर सुधार गर्न सहयोग गर्छ ।

साक्षरता कार्यक्रमका सहभागी प्रायः वैवाहिक जीवनमा प्रवेश गरिसकेका, काँधमा पारिवारिक जिम्मेवारी बोकेका र सामाजिक व्यक्तित्वका रूपमा स्थापित भइसकेका व्यक्ति हुन्छन् । त्यसैले उनीहरूमा व्यक्तिगत, पारिवारिक तथा सामाजिक समस्या र चिन्ता हुन सक्छन् । जसको निराकरणका लागि मनोसामाजिक परामर्श आवश्यक हुन सक्छ । कृत्रिम बौद्धिकताको उचित प्रयोग गर्दा व्यक्तिको सिकाइका अतिरिक्त मनोसामाजिक परामर्शमा पनि यसले सहयोग गर्न सक्छ ।

  • चुनौती

कृत्रिम बौद्धिकताको प्रयोगका लागि कम्प्युटर वा एन्ड्रोइड फोन र इन्टरनेट अनिवार्य हुनुपर्छ । साक्षरता कक्षामा सहभागी हुनेहरूसँग यी साधन र वातावरण नहुन सक्छ । जसले गर्दा समाजमा वा व्यक्तिको सिकाइमा असमानता बढ्न सक्छ ।

युनेस्कोको अवधारणा पत्रका अनुसार आज १० वर्षमाथिका ८० प्रतिशत मानिससँग फोन छ । विश्वका ६८ प्रतिशत व्यक्ति इन्टरनेटको पहुँचमा छन् । यो संख्या धनी देशमा ९३ प्रतिशत छ भने कम आय हुने देशमा २७ प्रतिशत मात्र छ । गरिब र धनी बिचको यो खाडल यसको प्रयोगले झन् बढ्न सक्छ ।

जब व्यक्ति सिकाइका लागि मेसिनमा भर पर्न थाल्छ, तब उसको आलोचनात्मक चेत, सिर्जनशील विचार र चिन्तनशीलता कमजोर हुँदै जान्छ । सहजकर्ता अल्छी बन्ने सम्भावना बढ्दै जान्छ । सहजकर्तालाई निर्देशन मात्र दिने व्यक्तिका रूपमा विकास गराउन सक्छ ।

कृत्रिम बौद्धिकताको प्रवेशले सहजकर्ताको सक्रियता घटाउनुको साटो भूमिकामा मात्र परिवर्तन गराउँछ भन्ने कुरा सहजकर्ताले बुझ्न जरुरी छ । उसले सहभागीलाई भावनात्मक सहयोग र मानवकेन्द्रित शिक्षण विधि प्रयोग गर्दै कृत्रिम बौद्धिकताको उचित प्रयोगमा सहभागीलाई सहयोग गर्नुपर्छ ।

इलिनोइस विश्वविद्यालय अमेरिकाका प्राध्यापक मेरी कालान्जिस र बिल कोपको अनुसन्धानको प्राप्ति अनुसार कृत्रिम बौद्धिकताको कारण प्रविधि, मानव शरीर र मानव मस्तिष्क बिचको सम्बन्ध नै धुमिल भएको छ । जस कारण सामान्य मानिस के ठिक के बेठिक छुट्ट्याउन नसक्ने भएका छन् । त्यसैले शिक्षामा कृत्रिम बौद्धिकताको प्रयोग सजगताका साथ गर्नुपर्छ । अझ साक्षरता कार्यक्रममा संवेगात्मक तथा भावनात्मकजस्ता मानवीय पक्षलाई सहजकर्ताले राम्ररी बुझ्न जरुरी छ, भन्नुहुन्छ उहाँहरू ।

कृत्रिम बौद्धिकताको प्रयोगले साक्षरताका आधारभूत सीपहरूमा कमी हुन सक्छ भन्दै उहाँहरू चिन्ता व्यक्त गर्नुहुन्छ । यसको प्रयोगले पुस्तक पढ्ने, लेख्ने तथा विनामेसिन गणना गर्न सक्ने क्षमतामा ह्रास आउन सक्छ । यो पक्षलाई सहजकर्ताले निरुत्तर ख्याल गर्दै क्रियाकलाप निर्माण गर्नुपर्छ ।

  • अबको बाटो

सरकारले नीतिगत रूपमै अनौपचारिक शिक्षामा कृत्रिम बौद्धिकताको प्रयोगलाई प्रोत्साहित गर्दै क्रमशः अनिवार्य गर्न आवश्यक छ । सरकारले सन् २०१९ मा पास गरेको डिजिटल नेपाल ढाँचाले कृत्रिम बौद्धिकतालाई शिक्षामा प्रयोग र उपयोग गर्न बाटो खोलिदिएको छ, तर यति मात्र पर्याप्त छैन । अनौपचारिक शिक्षामा कृत्रिम बौद्धिकतासम्बन्धी छुट्टै नीति र मापदण्ड विकास गर्नु आवश्यक छ । जस्तै ः साक्षरता कक्षाका सहजकर्ता र सहभागीको कृत्रिम बौद्धिकतासम्बन्धी सक्षमता मापदण्ड आदि ।

अबको साक्षरता कार्यक्रम एन्ड्रोइड फोनको एप्लिकेसनसँग नजोड्ने हो भने व्यक्ति साक्षरता कार्यक्रममा सहभागी नै हुँदैनन् । त्यसैले साक्षरताको पाठ्यक्रम र पाठ्यसामग्री आजको सूचना र प्रविधिको युगले माग गरेको समय सापेक्ष ज्ञान र सीप सिकारुमा विकास गर्ने गरी परिमार्जन तथा अनुकूलन हुनु जरुरी छ । जस्तै : सबै स्थानीय तहले साक्षरता कार्यक्रममा डिजिटल साक्षरता सम्बन्धी क्रियाकलाप जोड्दै आफ्ना नागरिकलाई डिजिटल्ली साक्षर बनाउन आवश्यक छ ।

साथै परम्परागत शिक्षण विधि र क्रियाकलापमा परिवर्तन पनि आजको माग हो । जसका लागि सहजकर्तालाई तालिम अपरिहार्य छ । विषयवस्तु निर्माण, सिकाइ प्रक्रियामा सिकारुहरूको सहभागिता, व्यक्तिको आवश्यकता पहिचान आदिका साथै कृत्रिम बौद्धिकताका साधनहरूको उचित प्रयोगका लागि सहजकर्तालाई सोही अनुरूप तयारी गर्नुपर्छ ।

तालिमका सन्दर्भमा ओबोफेमी अलोओ विश्वविद्यालय नाइजेरियाका अर्का प्राध्यापक बद्रुदिन तेस्लिम भन्नुहुन्छ—  साक्षरता कक्षाकोे नेतृत्व गर्ने व्यक्तिलाई पर्याप्त तालिम तथा प्रशिक्षण नदिने हो भने कृत्रिम बौद्धिकताको प्रयोगले नकारात्मक परिणाम पनि दिन सक्छ । त्यसैले साक्षरता कार्यक्रममा कृत्रिम बौद्धिकतालाई प्रवेश गराउनु अगि सहजकर्ताको तालिम र योग्यतामा ध्यान दिनुपर्छ ।

कृत्रिम बौद्धिकताको प्रगोगलाई समयमै अनौपचारिक शिक्षासँग जोड्दै साक्षरता कार्यक्रमलाई डिजिटल युग सुहाँउदो नबनाउने हो भने यी कार्यक्रम चल्दैनन् । औपचारिक शिक्षामा जस्तै अब साक्षरता कार्यक्रममा पनि कृत्रिम बौद्धिकताको प्रयोग सामग्री उत्पादन, नवीन शिक्षण विधिको प्रयोग, परीक्षा सञ्चालन तथा परीक्षाफल विश्लेषण आदिमा प्रयोग गर्न ढिला भइसकेको छ ।

त्यसैले कृत्रिम बौद्धिकताको बहुआयामिक शक्तिको प्रयोग समग्र नीति र प्रणालीमा सुधार, पाठ्यसामग्री र शैक्षणिक विधिमा परिमार्जन तथा अनुकूलन र व्यक्तिको क्षमता र दक्षता अभिवृद्धि आजको पहिलो आवश्यकता हो । यसका लागि सरकारी लगानी बढाउनुपर्ने देखिन्छ । साथै, यो क्षेत्रमा कार्यरत निजी क्षेत्र र विकास साझेदारसँग सहकार्य गर्दै सरकार अगाडि बढ्नु उपयुक्त देखिन्छ ।

तिखो न्यूज

तिखो न्यूज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौर कारागारबाट भागेका ५२ कैदीबन्दी पक्राउ

सिंहदरबार भित्रका कार्यालय सरसफाइमा जुट्न निजामती कर्मचारीको आह्वान

अमेरिकी छापामारीपछि कम्पनीहरू अमेरिकामा पैसा लगाउन हच्किनेछन्ः लि जाए म्युङ

‘जेनजी’ भन्दै रास्वपा नेता गणेश कार्कीले बनाएर पठाए राष्ट्रपति कार्यालयमा सूची

संविधान र संसद् भंग नगर्नुहोस्, संक्रमणकालीन अवस्थामा स्थायित्व आवश्यक छ : सीके राउत

जंगीअड्डा वरिपरि सेनाको कडाइ, अनावश्यक भिड नगर्न माइकिङ

तिखो मिडिया नेटवर्क द्वारा सञ्चालित तिखो न्युज डटकम
www.tikhonews.com
ठेगाना:- गरुडा नगरपालिका –४ रौतहट
+९७७९८४५२५२०३२
इमेल:- tikhonews@gmail.com

हाम्रो टिम

  • प्रकाशक/सम्पादक : गौतम कुमार साह
  • +९७७९८४५२५२०३२
    • सह सम्पादक : ...............
    • +९७७ ९८१४७९१६२१
      • सम्वाददाता : ....................

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2025 : All copyrights to reserved. Tikho News Developed by: Nitra Technology.